मंसिरको परिणाम बैशाखमा उल्टिन्छ : जीतनारायण श्रेष्ठ

मंसिरको परिणाम बैशाखमा उल्टिन्छ : जीतनारायण श्रेष्ठ


ग्लोब नेपाल
2.4k
Shares

नेपाली कांग्रेसले वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता श्रेष्ठले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेकोले आफ्नो जीत हुने बताएका छन् । मंसिरको निर्वाचनमा चितवनमा हावाहुरी आएको भन्दै उनले त्यो हावाहुरी अहिले विस्थापित भएकोले आफुले जित्नेमा बिश्वस्त रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अहिले धेरै प्रश्न उठेकोले जनताले वास्ताविकता बुझिसकेको उनको दाबी छ । आफू चितवन–२ कै भूमिपुत्र भएकाले पनि जित्ने आधार बलियो रहेको उनको भनाई छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने टिकट पाएपछि नेता श्रेष्ठसँग चितवन–२ को उपनिर्वाचनको विषयमा गरिएको कुराकानी –

० नेपाली कांग्रेसले चितवन–२ को उपनिर्वाचनमा तपाईँलाई उम्मेदवार बनाएछ नि ?
– चितवन क्षत्र नम्बर २ को उपनिर्वाचनमा जीतनारायण उपयुक्त उम्मेदवार हो भनेर नेपाली कांगे्रसको केन्द्रिय समितिले ठहर गरेको छ । त्यही बमोजिम म पार्टीको तर्फबाट उम्मेदवार बनेको हुँ । व्यक्ति उम्मेदवार होइन । देशैभरिका साथीहरुले शुभेक्षा प्रकट गरिरहनुभएको छ । उहाँहरुको शुभेक्षा अनुरुप बैशाख १० मा हुने चितवन–२ को उपनिर्वाचनमा विजयी भएर नेपाली कांगे्रसको सिट संख्यामा १ सिट थप्ने कुरामा म पूर्ण आसावादी छु । त्यही अनुसार म प्रयत्न गर्नेछु ।

० तपाईँको जित्ने आधार के हो ?
– चितवन क्षेत्र नम्बर २ मा २८ वटा वडा पर्छन् । इच्छाकामाना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका पर्छन् । म विद्यार्थी कालदेखि नै यहाँको सामाजिक राजनीतिक कार्यमा सक्रिय छु । मेरो जन्म स्थान कालिका नगरपालिकामा हो । २७ वर्षको राजनीतिक यात्रामा मैले भरतपुरलाई नै केन्द्रविन्दु बनाएर राजनीति गरिरहेको छु । २८ वटै वडा मेरालाई पारिवारिक रुपले, सांगठनिक रुपले र नेपाली कांगे्रसको पुर्वजिल्ला सभापति भएको कारणले सबै मतदाताहरुसँग मेरो प्रत्यक्ष संलग्नता र कुनै न कुनै माध्यमबाट भेटघाट भएको छ । त्यो हिसाबले त्यहाँका साथीभाइमा जीतनारायण श्रेष्ठ उपयुक्त उम्मेदवार हो भन्ने भावना र ठहर छ । त्यही अनुसार कांगे्रसले निर्णय गरेको छ ।

जित्नेमा म आफै पनि विश्वस्त छु । मेरो पिताले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई राजनीतिक केन्द्रबिन्दु बनाएर राजनीति गर्नुभएको थियो भने मैले ती दुई पालिकाको साथै भरतपुरलाई पनि केन्द्रबिन्दु बनाएर राजनीति गरेकोले यहाँ मेरो पहुँच पुग्छ । यहाँको धर्तिपुत्र म आफुलाई ठान्छु । २०५२ सालदेखि म विभिन्न पदमा रहेर सेवा गर्दै आएकोले त्यसलाई विश्वास गरेर मलाई मतदान गर्नुहुन्छ । चितवनवासी दाजुभाइ दिदिबहिनीहरु चाहे जुनसुकै पार्टीमा आवद्ध भए पनि जीतनारायण भनेको हाम्रो सुख दुखमा साथ दिने, पिडा र समस्यामा बोल्छ भनेर उहाँहरुले बुझनुभएको छ । त्यसैले म र चितवनवासीबीचको विश्वास नै मेरो जितको आधार हो ।

० तर मंसिरको चुनावमा त कांगे्रस निकै कमजोर देखियो नि ?
– मंसिरको चुनावमा हावाहुरी आएको हो । जल्ले त्यो हावाहुरी ल्यायो त्यो मान्छे अहिले जनताको बिचमा आफ्नो स्थिति खोज्दै, कहाँ हो मेरो पहिचान भनेर खोज्दै बस्न परेको छ । कहिले कस्लाई समर्थन गरेको छ, कहिले कस्लाई भोट हालेको छ । जनताको अगाडि भोट हालेको कारण पनि खुलाको छैन । के कारणले विश्वासको मत दिएको कारण पनि खुलाउन नपर्ने, पार्टीबाट निर्णय गर्न नपर्ने, आफुलाई मन लाग्दा जे पनि निर्णय गर्ने गरेको देखिएको छ । म कसैको व्यक्तिगत रुपमा नाम लिन चाहान्न । सचेत चितवनवासीले त्यो राम्रोसँग बुझेका छन् । मंसिरदेखि हालसम्मको गतिविधिलाई राम्रोसँग नियाल्नुभएको छ । चितवनबाट निर्वाचित हरेक जनप्रतिनिधिले कस्तो भुमिका निभाएका छन भन्ने जनताले देखिरहेका छन् । मंसिरको परिणामको उल्टो परिणाम यो निर्वाचनमा आउँछ ।

० तपाईं सत्ता गठबन्धनको साझा उम्मेदवार हो ?
– स्वभाविक रुपमा म सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांगे्रसको उम्मेदवार भएकोले सत्ता साझेदार दलहरुको समर्थन हुने कुरामा म विश्स्त छु । त्यसको निर्णय पार्टीले गर्ने छ । सत्ता गठबन्धनबाट मै साझा उम्मेदवार हुने कुरामा पनि म ढुक्क छु ।

० मंसिरको निर्वाचनमा सबैभन्दा सार्वाधिक मतान्तरमा जितेका रवि लामिछानेको सामना कसरी गर्नु हुन्छ ?
– मैले अगाडि पनि भने । चितवनवासीमा जुन रुपको निरासा थियो । रास्वपाका उम्मेदवार रवि लामिछाने जीले जुन किसिमको फण्डाहरु दिनुभो, त्यो होकी त भनेर झुक्केको अवस्था थियो । अहिले उनैको गतिविधिबाट जनता पुर्णरुपमा वास्तविक्ता बुझिसकेका छन् । हिजो सत्तामा हुनेहरुको नाकको डाँणी टुडिखेलमा ल्याएर भच्छु भन्ने कुरा जनताले बुझे । अब नाकको डाँणी भाँचिन पर्ने पात्र को हो भन्ने कुरा पनि जनताले बुझेका छन् । त्यसो हुनाले मंसिरको परिणाम जस्तो अहिले आउँदैन् । त्यसमा म पूर्णरुपमा विश्वस्त छु ।