उपनिर्वाचनकाे मतदाता नामावली स्वीकृत, कुन क्षेत्रमा कति मतदाता ?

उपनिर्वाचनकाे मतदाता नामावली स्वीकृत, कुन क्षेत्रमा कति मतदाता ?



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार आगामी वैशाख ९ गते सम्म १८ वर्ष पुग्ने एक करोड ८० लाख एक हजार ५६६ जनाको नाम अन्तिम नामावलीमा समावेश भएको छ ।

आयोगले बिहीबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरू चितवन २ बारा २ र तनहुँ १ लाई समेत समेटेर देशभरको अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको हो ।

स्वीकृत मतदाता नामावली बमोजिम वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाताको संख्या ८८,५२,०४६, पुरुष मतदाताको ९१,४९,३३५ र अन्य १८५ जना गरी जम्मा कुल १,८०,०१,५६६ जना मतदाताको रहेका छन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा महिला मतदाता ८८, ४७,५७९ र पुरुष मतदाता ९१,४०, ८०६ जना थिए । यस्तै अन्य १८५ गरी जम्मा १,७९,८८,५७० जना रहेका थिए । उपनिर्वाचनसम्म आइपुग्दा १२ हजार ९९६ मतदाता वृद्धि भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मंसिर ४ को निर्वाचनमा चितवन २ मा १,२४,२१५, बारा जिल्ला २ मा १,०५,०११ र तनहुँ १ मा १,२३,४९० मतदाता रहेका थिए । आज स्वीकृत नामावलीअनुसार चितवन २ मा ४७० थप भई १,२४,६९५ मतदाता पुगेका छन् ।

यस्तै बारा २ मा २३७ थप भई १,०५, २४८ र तनहुँ १ मा १८५ घटेर १,२३,३०५ मतदाता कायम भएको पौड्यालले जानकारी दिए। यसैगरी आयोगको निर्णयानुसार देशभर १०,८९२ मतदान स्थल र २२, २३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने उनले बताए ।

आयोगको निर्णयअनुसार चितवन जिल्लामा फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ देखि लागू हुने अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको आयोगले जनाएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य जारी रहेको छ ।