नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।