यति छिटै उपेन्द्र संसदमा जानु हुँदैन : सीके राउत

यति छिटै उपेन्द्र संसदमा जानु हुँदैन : सीके राउत



बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिटै फेरि संसदमा जान नसक्ने बताएका छन् ।

आइतबार बारा २ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।

‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्’, राउतले भने, ‘त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए ।

‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ’, राउतले भने, ‘उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन् ।’