उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु हुँदा पाकिस्तानमा आकस्मिक अवतरण

उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु हुँदा पाकिस्तानमा आकस्मिक अवतरण



काठमाडौं । उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ ।

दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो । मृतक नाइजिरियाका नागरिक भएको बीबीसीले जनाएकाे छ।

विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको छ । भारत र पाकिस्तानबीच प्रत्यक्ष हवाई उडान छैन ।

भारत र पाकिस्तानबीच कटु सम्बन्ध छ। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान भारतबाट विभाजित भएको थियो। त्यसपछि ती दुईबीच तीन पटक युद्ध भइसकेको छ ।

सन् २०१९ को जुलाईमा पाकिस्तानले गैरसैनिक उडानहरूका लागि पुनः आफ्नो हवाईक्षेत्र पूरा खोलिदिएको थियो । भारतसँग तनाव चर्किएपछि पाँच महिनाका लागि पाकिस्तानले आफ्नो आकाशमा विमान उडाउन निषेध गरिदिएको थियो ।
इन्डिगोको उक्त विमानमा १६३ यात्रुहरू थिए ।

सोमवार मध्यराततिर उक्त विमानले जिन्ना टर्मिनल इन्टरन्याश्नल एअरपोर्टमा अवतरण गरेको थियो । पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर चिकित्सक र एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गर्‍यो । कराचीबाट चार घण्टापछि विमान आफ्नो गन्तव्यतिर फेरि उड्यो । इन्डिगोले एउटा विज्ञप्ति जारी गर्दै विमानमा यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ ।