उम्मेदवारी दर्तापछि जीतनारायणले भने– चितवनवासीकाे सेवामा निरन्तर रहन्छु

उम्मेदवारी दर्तापछि जीतनारायणले भने– चितवनवासीकाे सेवामा निरन्तर रहन्छु



चितवन । सत्ता गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

सोमबार उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनका तर्फबाट चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चितवन–२ का मतदाताले स्थानीय उमेदवार र सु:ख-दुःखको साथी आफूलाई निर्वाचित गराउन संकल्प गरिसकेको विश्वास व्यक्त गरे ।

उनले भने, “यहाँ उपचुनाव हुन्छ भनेर हामीले परिकल्पना गरेका थिएनौँ । विशेष परिस्थितिले यो उपचुनाव हुँदै छ, मैले यसमा के गर्ने भनेर मेरो आत्मलाई सोधेँ– यो उपचुनाव जीतनारायण श्रेष्ठका लागि हुँदै छ । त्यसपछि पार्टीका साथीहरूसँग सोधेँ सर्वसम्मत स्वीकार भयो । केन्द्रबाट मेरै नाममा निर्णय भयो ।”

उनले आफूले गरेको काम सबैलाई थाहा भएको भन्दै चितवनवासीको सेवाका लागि सांसद बन्न प्रतिस्पर्धामा उत्रिएको बताए । “व्यावसायिक घरानामा हुर्किएको मान्छे हुँ, व्यवसायी बन्न सक्थेँ । मैले मास्टर डिग्री गरेको छु, पढाएर खान सक्थेँ । तर, बुवाको सुझाव र आफ्नो इच्छाले समाजसेवाका लागि राजनीतिमा छु । चितवनवासीको सुखदुःखमा सँगसँगै छु,” श्रेष्ठले भने, “चितवनका घरघर चिन्छु, कुन बाटोमा कसको घर पर्छ, कुन वडाको सिमाना कहाँ पर्छ, मलाई थाहा छ । यहाँ नारायणीको डुबान होस् वा भूकम्पको विपत्, म चितवनवासीका साथमा छु । म चुनाव जितौँ वा हारौँ, चितवनवासीको सेवामा निरन्तर रहनेछु ।”