पार्टीभित्र संघर्ष नगर्ने कांग्रेस हुन सक्दैन : गगन थापा

पार्टीभित्र संघर्ष नगर्ने कांग्रेस हुन सक्दैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टीलाई लात हानेको आरोप लगाएका छन् । उनले पार्टीभित्र संघर्ष गरेर बस्न तयार नहुनेहरू कांग्रेस हुन नसक्ने बताए ।

सोमबार कांग्रेस नेता गोविन्द भट्टराईको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ क्षेत्र नम्बर–१ मा पुगेका उनले यस्तो बताएका हुन् । आसन्न उपनिर्वाचनमा भट्टराई सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार बनेका छन् ।

कांग्रेसलाई लात हानेर बाहिरबाट ‘कांग्रेस खराब छ’ भन्दैमा लोकतन्त्र सुदृढ नहुने महामन्त्री थापाले बताए । “यसपटक चुनावमा जाँदा एउटा गीत बजेको सुन्नुहुनेछ, पुराना पार्टी खराब भए भनेर । नो नट अगेन भनेर पहिलोपटक २० सिट ल्याएर आएको हामीले हेर्‍यौँ,’ उनले डा. वाग्लेतर्फ संकेत गर्दै प्रश्न गरे, “हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौँ । हामीलाई पनि पार्टी बदल्ने चाहना छ, नेपाली कांग्रेस । कांग्रेसभित्र जे भइरहेको छ, त्यो सबै त ठिक भइरहेको छैन । तर, नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ?”

डा. वाग्ले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए । आसन्न उपनिर्वाचनमा उनी सोही पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका छन् ।

कांग्रेस बदल्न भित्र बसेर संघर्ष गर्नुपर्ने भन्दै थापाले त्यो संघर्षमा आफूहरू रहेको बताए । डा. वाग्ले पाहुना उम्मेदवार भएको भन्दै उनले तनहुँवासीले आफ्नो हितका लागि भट्टराईलाई जिताएर पठाउनुपर्नेमा जोड दिए ।

“मेरा बाको उमेर भएको सभापतिसँग संसदीय दलको चुनाव भिडेर आएको । ससुराबासँग महामन्त्रीमा भिडेर आएको । त्यसैले भट्टराईलाई जिताएर पठाउनुस् । घुम्दैघुम्दै आएको टुरिस्ट उमेदवारलाई तपाईंहरूले भन्न सक्नुपर्छ– हामी पनि लडिरहेका छौँ, पार्टीभित्र संघर्ष हुन्छ भनेर । त्यो संकल्पमा साथ दिने कोही छ भने त्यो गोविन्द भट्टराई हो,” थापाले भने, “हामीले पार्टीभित्रै संघर्ष गरेका छौँ । गोविन्दराज जोशीलगायत नेताहरूलाई एकजुट भएर, कांग्रेसलाई सुदृढ बनाउँदै कांग्रेसलाई एकढिक्का बनाएर जाने विश्वास लिएको छ । वैशाख १० गते नेपाली कांग्रेसका उमेदवारलाई जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु ।”

उनले भट्टराईलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समेत समर्थन गरेकाले जित निश्चित रहेको जिकिर गरे ।

“सबै पार्टीले साझा उमेदवार बनाएको छ गोविन्द भट्टराईलाई,” थापाले भने, “संसद्मा शंकर भण्डारीसँगसँगै गोविन्द भट्टराईलाई पनि देख्नुहुनेछ ।”

उनले तनहुँमा उमेदवार बन्न पार्टीभित्र दाबेदारको संख्या धेरै भए पनि सर्वसम्मत निर्णय लिइएको बताए । “१२ जना साथीहरूले यो क्षेत्रमा इच्छा राख्नुभएको थियो । सबैलाई न्याय गर्नैपर्छ हामीले । ०४६ सालको आन्दोलनमा जेल परेका नेताहरू यहाँ हुनुहुन्छ । तीन पुस्ता, चार पुस्ताका मान्छे कांग्रेसमा क्रियाशील छन् । यसपटक उमेदवार छान्न मुसिकल थियो,” उनले भने, “ती नामबाट एकजनाको नाम छान्नैपर्ने थियो । गोविन्द भट्टराईको नाम छानियो । सर्वसम्मत रूपमा यहाँ प्रस्तुत गरेका छौँ ।”

महामन्त्री थापाले आफू भट्टराईको कार्यकर्ता भएको भन्दै उनको उम्मेदवारी नै न्यायको उदाहरण भएको बताए ।