उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित

उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित

साझा उमेदवारलाई जिताउन पाँच दलको आह्वान



काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ दिएका छैनन् ।

५ दलले मंगलबार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर गरेका छैनन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ आफ्नै उम्मेदवार उठाएको छ ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् ।