उपेन्द्र यादवले जितेर देशको विकास हुँदैन : ओली

उपेन्द्र यादवले जितेर देशको विकास हुँदैन : ओली



बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा- २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए ।

ओलीले भने, ‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला । वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’

यादवले जिते देशको विकास नहुने उनको भनाइ । ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’

ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए । मधेसको मसिहा भन्नेहरूले मधेसका जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाएका छन् ।

ओलीले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने बताए । ओलीले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न समेत गरे । ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन्’, ओलीले भने, ‘बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’