कोशी प्रदेशमा पार्टीबाट गल्ती भयो : प्रचण्ड

कोशी प्रदेशमा पार्टीबाट गल्ती भयो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन् ।

नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिए । ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ’, बैठकपछि पोखरेलले भने ।

कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ । माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो । यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिँदै आएको छ ।

उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारी बैठकपछि पहिले पहिचानको पक्षमा रहनुपर्नेमा कमजोरी भएकाले प्रदेश कमिटीमा रिजर्भेसन राख्ने बताए ।

“हाम्रो पार्टी पहिचानको पक्षमा छ । पहिचानकै पक्षमा हाम्रो अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ,” महराले भने, “प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भनेर रिजर्भेसन राख्ने कुरा भएको छ ।”

त्यस्तै, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने र राहत घोषणा गनुपर्ने निर्णय भएको उनले बताए । त्यस्तै भोलि सरकार बिस्तार हुने पनि उनले बताए ।

यस्तै बैठकमा प्रचण्डले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले पहलकदमी लिएको समेत जानकारी गराएका थिए । जसअनुसार सरकारले मन्त्रिपरिषदबाट आयोग गठन गरिसकेको छ ।