चितवन २ मा दुईजनाकाे उम्मेदवारी फिर्ता

चितवन २ मा दुईजनाकाे उम्मेदवारी फिर्ता



चितवन । चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशित गरेको हो ।

चितवन-२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार उम्मेदवारी दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवार हुने भएका छन् ।

यसअघि साे क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरण देखाएर उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जीवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि यस क्षेत्रमा ४८० मतदाता थपिएका हुन् ।

चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् ।

पालिकाअनुसार हेर्दा कालिकामा ३२ हजार २४१, इच्छाकामनामा १५ हजार ६२० र भरतपुरका १० वटा वडामा ७६ हजार ८३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यसअन्तर्गत १३८ वटा मतदान केन्द्र बनाइएको छ ।