प्रधानमन्त्री र नेता कोइरालाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री र नेता कोइरालाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल



काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर नेता कोइराला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाेले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन प्रधानमन्त्रीले नेता कोइरालालाई आग्रह गरे ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताए । कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग राखेका छन् । सभापति देउवाले आफ्नो समूहलाई दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो । बिहीबार साँझ सभापति देउवासँग भेटवार्ता गरेका उनी शुक्रबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।

गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।