पुराना नेता खरेलले छाडे एमाले

पुराना नेता खरेलले छाडे एमाले



झापा । एमालेका पुराना नेता नरेश खरेलले पार्टी छाडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका खरेलसहित झापाका १० नेता कार्यकर्ताले पार्टी परित्याग गरेको सोमबार घोषणा गरेका हुन् ।

खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ र हिरासहित १० जना नेता कार्यकर्ताले पार्टी छाडेको संयुक्त विज्ञप्तिमार्फत घोषणा गरेका हुन् । उनीहरुले नेतृत्वले गल्ती कमजोरी सुधार गर्दै पार्टीलाई एकताबद्ध पार्नुको सट्टा निरंकुश बन्ने र फरकमत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लीन भएको भन्दै पार्टीमा इमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितीवादी शक्ति र व्यक्तिसंगको साठगाठ अझ दरिलो बन्दै गएको बताएका छन् ।

‘यस्ता गतिविधिहरु टुलुटुलु रमिता हेर्न हामीले उचित ठानेनौं । त्यसैले नेकपा (एमाले) मा लामो समयसम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।