रविप्रति चित्रबहादुरको टिप्पणी : खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो

रविप्रति चित्रबहादुरको टिप्पणी : खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नयाँ पार्टीहरू पनि पूराना पार्टीहरूजस्तै भएको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूरानै पार्टीहरूले गरेजस्तै गल्ती दोहोर्‍याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका हुन् ।

राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताए ।

‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन’ आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ ।’

उनले मापदण्ड घटाएर सात दिने बोलपत्र घटाउनु पनि कानुन विपरित भएको बताए ।

“पूूराना पार्टीले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थअनुसार नियम कनुन बनाउँथे । नयाँ आएका पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता हेरिरहेका थिए,” केसीले कटाक्ष गरे, “खोस्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो । यस्ता प्रवृत्तिलाई यसै छाड्नुहुन्न । ”