प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति



काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएको कांग्रेस नेता लेखकले जानकारी दिए ।

‘प्रधानन्यायधीश कार्यवाहक हुनुहुन्छ, यो स्थिति हुनुहुँदैन’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीले यसमा विशेष पहल गर्नुभयो र प्रस्ताव गर्नुभयो । यसमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सहमति जनाउनुभयो र यसमा सहमति भयो ।’ नेता लेखकले चाँडै प्रधानमन्त्रीले संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने बताए । छलफलमा संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको एमाले सचेतक महेश वर्तौलाले जानकारी दिए ।

‘कम्तिमा पनि ठुला दलको बीचमा राष्ट्रका मुद्दामा सहमति जुटाउनुपर्छ भन्ने एमालेको भनाई छ । कानुन बनाउने सन्दर्भमा हामीले सहयोग गर्छौ भनेका छौ । आजको सहमतिअनुसार सर्वोच्चले अब चाँडै नेतृत्व पाउँछ’, बर्तौलाले भने ।