मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो



काठमाडौं । सर्वसाधारणका लागि मेन्छियाम हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका तथा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख ७ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । आफ्नो बैंक खाता भएको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले संखुवासभास्थित माथिल्लो पिलुवाखोला २ जलविद्युत् आयोजनाबाट ४.७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको निर्माण सम्पन्न भइसक्दा कुल लागत १ अर्ब ३१ करोड छ । अर्थात प्रतिमेगावाट लागत २७ करोड ९४ लाख रुपैयाँ छ । आयोजनाको लागत औसतभन्दा महँगो देखिन्छ । गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा ऋणात्मक छ । केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन क्षमता औसतमा रहेको जनाउँछ ।