रविले जनता भड्काए : गगन थापा

रविले जनता भड्काए : गगन थापा



चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको लोकरिझ्याइको राजनीति दुईचार दिनको रमाइलो मात्र भएको टिप्पणी गरेका छन् । व्यवहारमा कार्यान्वयन गर्न नसिकने तर जनताले सुन्न चाहेको कुरा गरेर अल्मल्याउने काम भइरहेको उनले बताए ।

चितवन २ का उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभालाई भरतपुरको धर्मचोकमा सम्बोधन गर्दै महामन्त्री थापाले रविले जनतालाई भड्काउने राजनीति गरिरहेको आरोप लगाएका हुन् ।

‘लोकरिझ्याइको राजनीतिले दुईचार दिन रमाइलो हुन्छ, जनताले जे सुन्न मन लागेको भन्दिए हुन्छ । जनताले जे सुन्न चाहेको छ भन्दिने भए मैले यो चौपारीमा बसेर एक घण्टा भाषण गर्न सक्छु’ थापाले भने, ‘उत्तेजनाको राजनीति गर्न सजिलो छ, बदल्ने कुरामा धैर्यता चाहिन्छ ।’

विगतमा वागी उम्मेदवारलाई समर्थन गरेका कृष्णप्रसाद सापकोटा लगायतका नेताहरू समेत अहिले कांग्रेस उम्मेदवारको समर्थनमा लागेकोले वैशाख १० गतेको चुनावमा मंसिरको नतिजा उल्टिने महामन्त्री थापाले दाबी गरे ।

उपसभापति धनराज गुरुङ र महामन्त्री थापाले सोमवार चितवनका दुईवटा सभालाई सम्बोधन गरेका छन् ।