२०५४ को स्थानीय निर्वाचन नेपाली कांग्रेसका निम्ति धेरै असहज थियो । उक्त कुरा निर्वाचन परिणामले पनि स्पष्ट नै गरेको थियो । ०४८ मा बनेको सरकार पूरा समय चल्न नसक्ने तथा २०४९ मा निर्वाचित जनप्रतिनिधिहरुले अपेक्षित ढंगले का मगर्न नसक्नुको परिणाम स्वरुप २०५१ मा त्रिशंकु संसदको बनावटले सरकार कांग्रेसको बन्न सकेको थिएन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नेकपा एमालेले सरकार सञ्चालन गरेको थियो । बामदेव गौतम गृहमन्त्री थिए, गृह प्रशासन सम्पूर्ण किसिमले एमालेकरण भएको अवस्थामा स्थानीय निर्वाचनको सामना गर्नु परेकोले उक्त निर्वाचन ज्यादै पेचिलो बनेको थियो । जो सत्तामा गयो, उसले नै गृह प्रशासन आफ्नो ढंगले परिचालन गर्ने क्रम त्यसपछि तीब्र बन्यो र विभिन्न किसिमका विकृति र विसंगति देखापर्दै अनेकौं उतरचढाव पार गर्दै हामी आजको अवस्थामा आइपुगेका हौं ।
दोलखा जिल्लाको निर्वाचन अझ बढी आक्रमक बनेको थियो । नेकपा एमालेको बलियो सांगठनिक आधार र गृहप्रशासनको थप सहयोगले कांग्रेसलाई उम्मेदवार खोज्न नै हम्मेहम्मे परेको सत्य नै हो । उम्मेदवार बन्न तयार नै भएनन, धेरै साथीहरु । यो समस्या जफेमा पनि परेको थियो । जफे गाउँ कांग्रेस कार्यकर्ता उत्पादन भएको ठाउँ हो । जहाँ गाउँपालिको अध्यक्षको उम्मेदवार पाइएन । पुराना नेता कार्यकर्ता भएका र काम गरेको पार्टीका जिल्ला सभापति भएका दुईजना व्यक्ति हुनुहुन्थ्यो । स्वर्गीय देवी न्यौपाने र उद्धव काफ्ले । कार्यकर्ताले उहाँहरुमाथि नै दबाब दिए । तपाईंहरुमध्ये एक उम्मेदवार हुनुपर्छ, अन्यथा हामी कोही पनि चुनाव लड्दैनौं । असजिलो परिस्थिति उत्पन्न भयो । कसलाई उम्मेदवार बनाउने भनी समस्या नै प¥यो । बहालवाला सभापति उद्धव काफ्लेले इन्कार गर्नुभयो । एक किसिमले उम्मेदवार नै नपाउने स्थिति देखाप¥यो । त्यो अवस्थामा पूर्व सभापति देवी न्यौपानेले पार्टीका खातिर म उम्मेदवार हुन तयार छु भन्नुभयो । सबैले ताली बजाए र उहाँलाई धेरै आदर र सम्मान पनि व्यक्त गरे । यस्ता त्याग धेरै गर्नुभएको छ । स्वर्गीय न्यौपानेले शिक्षकको जागीर छोड्नुभयो । स्वर्गीय देवी न्यौपानले पार्टीका लागि जुनसुकै तहमा बसेर पार्टीको प्रतिष्ठा कायम गर्न अग्रसर हुने नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो भन्ने सन्दर्भ उहाँको दोस्रो स्मृति दिवसका सन्दर्भमा स्मरण गर्नु उपयुक्त लागेको छ । यसरी देवी न्यौपानलाई अध्यक्ष र मनहरि पोखरेललाई उपाध्यक्ष बनाएर उम्मेदवार तय गरिएको थियो ।
सोही निर्वाचनको एउटा रोचक सन्दर्भ पनि छ । माथि नै उल्लेख गरियो कि उम्मेदवार पाउन कठिन भएको थियो । नौ वडाबाट महिलासहित ४७ उम्मेदवार प्रस्तुत गर्ने व्यवस्था थियो । प्रत्येक वडाबाट ५ जना जनप्रतिनिधि आवश्यक पर्दथ्यो । कांग्रेसका लागि वडा नं. १ र ३ अति कठिन देखिन्थ्यो । वडा नं. १ को महिला उम्मेदवार नभएकाले मनोनयको दिन बिहान मलाई वनगाउँ गएर बुवा तारानाथ काफ्लेको श्रीमति भोजकुमारी काफ्ले आमालाई उम्मेदवार बनाएर वारेसमार्फत् उम्मेदवारी दर्ता गराउनु प¥यो । यो काम अरुले गर्न सक्दैनन, तपाईं नै जानुपर्छ, त्यहाँ अरु मान्छे जानसक्ने अवस्था पनि छैन । एमालेको डरले कोही त्यो प्रयोजनका लागि जान सक्ने अवस्था थिएन ।
कम्तीमा घरबाट एक घन्टाको समय लाग्छ वनगाउँ पुग्न, दौडिएर त्यहाँ गए । भोजकुमारी आमा तयार हुनुभयो तर बुवालाई सोध्नुपर्छ भन्ने भनाइ आयो । बुवा कहाँ हुनुहुन्छ भन्दा एमालेका नेता आनन्द पोखरेलको घरमा श्राद्ध छ, त्यहाँ जानुभएको छ । अब कसरी समस्याको समाधान गर्ने । समय घर्किदै थियो । उम्मेदवारी बनाएर दर्ता गर्न अर्को एक घन्टा समय हिडेर जानुपर्छ । सहज किसिमले आनन्द पोखरेलको घरमा जान सक्ने समय थिएन । तर मैले जाने निर्णय गरे र भाइ उत्तम काफ्लेलाई लिएर आनन्द पोखरेलको घरमा गएँ । त्यहाँ एमालेका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको मलाई देख्नेवित्तिकै त्यहाँको माहोल नै अर्कै बन्यो । किन आयो, के उद्देश्य हो भन्ने कुरामा सशंकित भए । एक किसिमले आक्रमण नै होला जस्तो परिस्थिति बन्यो त्यहाँ । तारानाथ बुवाले यहाँ किन आएको परिस्थिति ठीक छैन, जाउँ भन्नुभयो । मैले आमालाई उम्मेदवार बनाउनु पर्ने भयो बुवाको सहमति चाहियो भने, उहाँले सहमति दिनुभयो । आफ्नो काम सकेर फर्कन लाग्दा आनन्द मामासँग नोकझोक प िनभयो । जनमानसलाई यसरी आतंकित बनाउनु भएन, यसको परिणाम राम्रो हुँदैन, मैले भने । उहाँले धम्क्याएको भान्जा भन्नुभयो, मैले जे सम्झिनुस् भने । शुभराज मामाको माइजुले आज श्रद्धा छ, भान्जा आउनुभएको छ, यसै जान हुँदैन, बसौं भन्नुभयो । मैले आजको माहोल फरक छ माइजु पछि बसौंला भनेर विदा भएर आमाको वारेस लिएर उम्मेदवारको आवश्यक संख्या पु¥याउन जुटे ।
एमाले तयारीका साथ आएको रहेछ । आफ्ना अधिकांश नेता कार्यकर्ता उतारेर विपक्षीलाई सकभर उम्मेदवारी दर्ता गर्न नदिने रणनीतिमा रहेछ । मैले र विनोद शर्मा काफ्लेले ४७ जनाको उम्मेदवारी बनाएर लेखेर दर्ता गर्न जाँदा एमालेका कार्यकर्ताले कुटपिट सुरु गरिसकेका रहेछन् । स्थिति असहज भइसकेको रहेछ । हामी पुगेर आनन्दजीलाई यो के हो उम्मेदवारी नै रोक्ने ? भन्ने विषयमा छलफल भयो । पहिला एमालेले उम्मेदवारी दर्ता गर्ने, त्यसपछि कांग्रेसले गर्ने सहमति भएकोमा कांग्रेसले उम्मेदवारी दर्ता गर्दा वारेसमार्फत् नहुने स्वयम उपस्थिति हुनुपर्ने बखेडा झिकियो । त्यसलाई समाधान गरियो । त्यसपछि ५ बजेपछि नहुने भन्ने अर्घेलो तेस्याइयो । जसलाई निर्वाचन कार्यालयका कर्मचारीहरुले पनि सहयोग गरे । हामीले यदि वारेसबाट हुँदैन, ५ बजेपछि हुँदैन भन्ने हो भने हामी उम्मेदवारी दर्ता दस्तु बुझाउँदैनौं भन्यौं । प्रशासन र एमालेलाई त्यही चाहिएको रहेछ, कांग्रेसको तर्फबाट दर्ता भएका उम्मेदवारसमेत कायम नगरी राज्य संयन्त्रको दुरुपयोग गरेर एमालेको, निर्देशनमा निर्विरोध घोषणा भयो । जुन घटनालाई ‘कांग्रेसले उम्मेदवारी दर्ता गर्न सकेन’ भन्ने प्रचार अरुले भन्दा कांग्रेसले नै गर्छन् । यसरी पार्टीको निम्ति गाउँ विकासको अध्यक्ष हुन तयार हुनुभएका थियो– देवी न्यौपाने । उहाँप्रति हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया