मेडइन नेपाल अभियानमा जुटेको यात्री मोटरसाइकललाई सरकारको असहयोग

मेडइन नेपाल अभियानमा जुटेको यात्री मोटरसाइकललाई सरकारको असहयोग



काठमाडौं । मेडइन नेपाल अभियानमा जुटेको यात्री मोटरसाइकलाई सरकारले दर्ता गर्न नमानेपछि यात्री मोटरसाइकलको विगत ८ महिनादेखि उत्पादन ठप्प छ । यात्री मोटरसाइकल उत्पादक दर्ताका लागि सरकारी कार्यालयको टेबुलमा पुग्दा पनि कानुनी छिद्रा देखाएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरिरहेका छन् ।

कम्पनीले बारम्बार आफ्नो समस्या स्पष्ट पारेर अनुरोध गर्दासमेत सरकारले नेपालमै बनेका सवारी साधन दर्ता गरेको छैन । केही समयदेखि यात्रीका विद्युतीय मोटरसाइकल सडकमा बिना नम्बर प्लेट नै गुडिरहेका थिए, तर उक्त मोटरसाइकललाई ट्राफिकले पक्राउ गर्न थालेपछि यो समस्याले राष्ट्रिय छापामा छाएको छ । साथै सरकारको रवैयाप्रति सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुनःले सरकारको रवैयाप्रति आन्दोलित हुँदै अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागि बृहत जनआन्दोलन गरौँ भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।’

यसैगरी नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झाले समेत असन्तुष्टि व्यक्त गरेका छन् । उनले टुइटरमा लेखेका छन– ‘विश्व अर्थतन्त्रले इनोभेसन खोजिरहेको छ हाम्रो दलबाट पटक पटक यो कुरा सदनमा उठाइएको छ तर संयन्त्रमा बौद्धिक दरिद्रता देखिन्छ। उद्योग मन्त्रालय र अर्थ मन्त्रालय तपाईँको दलसँग छ। केही गर्नुस्। नत्र स्मरण रहोस, हरिले हेर्दै छ।’

नेपालमै विद्युतीय सवारी साधन विकास गर्ने उद्देश्यका साथ २०१७ मा यात्री मोटरसाइकल नामक कम्पनी केही उत्साही युवाहरुले स्थापना गरेका थिए । त्यसयता कम्पनीले विद्युतीय मोटरसाइकल निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनी स्थापना भए लगत्तै विभिन्न मन्त्रालय र विभागहरूमा आफूहरूले अनुमति र प्रमाणपत्रका लागि आवेदन दिन सुरु गरिएको यात्रीले जनाएको छ ।

त्यसक्रममा यातायात व्यवस्था विभागले यात्रीलाई आफ्नै च्यासिस बनाउन अनुमति पनि दिएको हो । उक्त प्रमाणपत्रको आधारमा यात्री मोटरसाइकलले नेपालमा आफ्नै च्यासिस बनाउन ‘च’ वर्गको वर्कशपसमेत स्थापना गरेको थियो ।

विकास, प्रोटोटाइप निर्माण, परीक्षण लगायतका कार्यमा करोडौं रुपयाँ खर्च गरी २०२१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘भेहिकल फिटनेस सेन्टर’बाट सडक सुहाउँदो परीक्षण पूरा गर्न पी–वन मोडल तयार पार्‍यो । आफ्नै च्यासिस बनाएर सवारी साधन उत्पादन गर्ने सम्भवतः नेपालको पहिला कम्पनी यात्री नै हो ।

उक्त पि–वान मोडल मोटरसाइकलको परीक्षण सफलतापूर्वक पास गरेर यात्रीले पी–वन मोडल दर्ता र सञ्चालनको स्वीकृति पाएसँगै विभिन्न बाहनाबाजी गरेर यात्री मोटरसाइकलको उत्पादन र बिक्री वितरणमा सरकारबाट कानुनी झमेला सिर्जना गरी मेडइन नेपाल अभियानलाई निरुत्साहित गर्ने काम भएको छ ।

साथै यात्री मोटरसाइकल निर्माता एवम् अन्वेषकहरु सरकारको रवैयाबाट दिक्क भएर विदेश पलायन भएको विभिन्न सञ्चारमाध्यममा खबर आएका थियो । तर उक्त समाचारको कम्पनीले खण्डन गरिसकेको छ ।