भोलिसम्म संसदीय समिति सांसदको नाम दिन सभामुखको आग्रह

भोलिसम्म संसदीय समिति सांसदको नाम दिन सभामुखको आग्रह



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरुको नाम दिन दलहरुलाई आग्रह गरेका छन् । 

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् । 

समिति गठन गरिँदा संसदलाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् । 

‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’ 

संसदमा उठेका विषयमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए ।