राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

प्रतिनिधिसभातर्फबाट भने बाँकी



काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फबाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । 

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ ।

जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।

नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था गरेको छ ।

त्यसका लागि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ । जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहनेछन् । दलीय सहमति नहुँदा प्रतिनिधिसभाले भने सुनुवाइ समितिमा नाम पठाउन सकेको छैन ।

प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि  प्रमुख तीन दलले नाम नदिदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाईएको छ । सुनवाई समिति संघीय संसदको संयुक्त समिति हो । 

सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरुको नाम दिन दलहरुलाई आग्रह गरेका छन् ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् ।

समिति गठन गरिँदा संसदलाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् ।