गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेस



पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । दिउँसो साढे ३ बजे बजे कांग्रेसका पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका छन् । पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश) १ जना संसदको समर्थन छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि वैशाख १४ गते आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समय तोकिदिएका थिए । पाण्डेसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि दाबी पेस गर्न पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठन गर्न ३१ सांसदको आवश्यक पर्छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।