सांसद खतिवडाकाे प्रश्न : अदालतले थुनामा राख्न भनेको व्यक्ति सांसदबाट किन निलम्बित भएनन् ?

सांसद खतिवडाकाे प्रश्न : अदालतले थुनामा राख्न भनेको व्यक्ति सांसदबाट किन निलम्बित भएनन् ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई निलम्बन नगर्नुको कारणबारे संसदमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरे । उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारण माग गरेका छन् ।

सांसद खतिवडाले भने, ‘लक्ष्मी महत्तो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु । अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ । तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन, सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभईकन सम्पूर्ण सदनको पक्षमा हुन्छ भनेर हामीले विश्वास गरेका थियौँ । तर, एमालेका सांसद कोइरी अहिलेसम्म निलम्बित हुनुभएको छैन । संविधान र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार उहाँ निलम्बित हुनुपर्ने हो कि होइन ? सदनलाई जानकारी गराइयोस् ।’

सरकारले अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा उनले अयोग्य लडाकुलाई अहिले रकम बाड्न नहुने पनि बताए ।

जवाफमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली पारित भइसकेपछि सांसद कोइरीका विषयमा कुनै जानकारी नआएको बताए ।

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि कोइरी कानुनको नजरमा फरार हुन् । फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।