रविलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

रविलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

३६ विभाग गठन, कुन विभागको प्रमुखमा को ? (सूचीसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

रास्वपाले ३६ विभागहरू गठन गरेको छ । बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

जसअनुसार नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।

केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएकाे थियाे । तर कुनै निर्णय नभएको बताइएकाे छ । पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्ने बताइएकाे छ । रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो ।

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ ।