शरणार्थी प्रकरणमा तानिएको हो कि तनाएको हो अध्ययन गर्दैछौँ : ओली

शरणार्थी प्रकरणमा तानिएको हो कि तनाएको हो अध्ययन गर्दैछौँ : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् ।

पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।

‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, बिहीबार ओलीले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने ।

ओलीले प्रकरणमाकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’