आउँदो बजेटमा खर्च कटौती गर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

आउँदो बजेटमा खर्च कटौती गर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीकालागि पूर्वअर्थमन्त्रीहरुसंग छलफल गरेका छन् । पूर्वअर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिएका छन् ।

छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलकाक्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको जानकारी गराए । साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र ताेकिएकाे समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थमन्त्री महतले अन्य पूर्वअर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरेका छन् ।