प्रधानमन्त्री महिनाको एक दिन संसद्‌मा अनिवार्य प्रश्नोत्तरमा सहभागी हुनुपर्ने

प्रधानमन्त्री महिनाको एक दिन संसद्‌मा अनिवार्य प्रश्नोत्तरमा सहभागी हुनुपर्ने

प्रतिनिधिसभा सांसदहरूको अब ई–हाजिरी हुने



काठमाडौं । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसद्मा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो । त्यससँगै संसद्लाई प्रभाकावरी बनाउन प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रम महिनामा एकपटक अनिवार्य गर्न लागिएको छ ।

संसद्का शून्य, विशेष र आकस्मिक समयमा उठाइएका प्रश्नको जवाफ विभागीय मन्त्रीले नदिने गरेको भन्दै जवाफदेही बनाउनुपर्नेमा समेत सांसदले जोड दिएका थिए ।

सभामुख देवराज घिमिरले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुरु हुने जानकारी गराएका छन् । बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी गराएका हुन् ।

सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए ।

त्यस्तै, प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेकाे छ ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने भएकाे छ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित/अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुख देवराज घिमिरेले बताएका छन् ।