दोषी लुकाउनेलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा

दोषी लुकाउनेलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी मात्रै नभएर दोषी लुकाउनेहरूलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले सो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

‘नेपाली समाजमा अहिले जो सबैभन्दा बढी बद्‍मासी गर्छ, उसैले ठूलो डकार गर्छ भन्न कुरा आउन थालिएको छ । अहिले भुटानी शरणार्थी प्रकरण चर्चामा छ । हामी चाहान्छौं कोही पनि दोषी छ भने कानुनबमोजिम कारबाही भोग्न तयार हुनुपर्छ, संसदमा तालि बजाएर मात्र हुँदैन, सरकारले त्यसका लागि पहल गरोस्,’ उनले भने, ‘मेरै नामसमेत मुछेर कुनै–कुनै सञ्चारमाध्यमबाट समाचार आइरहेको थाहा पाएँ, छानबिन होस् । मैले गल्ती गरेको रहेछु भने मैले पनि कानूनबमोजिम कारबाही भोग्नुपर्छ । म राजनीति छोडेर कारबाही भोग्न तयार छु । तर जो दोषी छ, त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ ?’

उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत मुछिएको भनेर आरोप लगाएको पाइएको भन्दै त्यसबारे गहिरो अनुसन्धान र छानविन गर्न माग गरे ।

‘लहराे तान्दा पहराे थर्किन्छ भनेजस्ताे नजिकका मान्छे पर्न थालेपछि कोही कोही म्याउ–म्याउ गर्दै भ्रष्टचारलाई जोगाउन प्रधानमन्त्रीकहाँ धाएका छन्, उनीहरूलाई के कारबाही हुन्छ ? स्पष्ट जवाफ चाहियो,’ उनले भने ।