राज्य व्यवस्थाका क्रान्तिकारी दलालहरु

राज्य व्यवस्थाका क्रान्तिकारी दलालहरु



चमत्कार गरेर देखाउँछौं भन्ने दल र यसको नेतृत्वले आफ्ना नागरिकलाई शरणार्थी बनाएर साम्रज्यवादी मुलुक पठाउन ठूलो रकम लेनदेन गरेको खुलासा भएको छ । अमेरिका साम्रज्यवाद र भारतीय विस्तारवादको स्वादिलो नारा दिएर गरिब निमुखा जनताको ध्यान आकृष्ट गरेको कम्युनिष्टहरु नै आफ्ना नागरिकलाई शरणार्थी बनाएर मोटो रकममा बेच्ने व्यवस्थामा लागेको देख्दा, सुन्दा र अनुभव गर्दा सिंगो देश आफै सर्माएको छ । देशको उपप्रधान, रक्षा, ऊर्जालगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालेका प्रशासनिक नेतृत्व गरेको राजनीतिक एवम् प्रशासनिक निकायका व्यक्तिहरु यस्तो दलाली र मानव तस्करीमा लाग्नुले उनीहरुको चरित्र आचरण निर्धारण गर्ने वैचारिक शिक्षादीक्षा के कसरी भएको रहेछ भन्ने स्पष्ट भएको छ । नैतिक धरातल कति कमजोर रहेछ भन्ने छर्लङ भएको छ । देशको शासन व्यवस्था दलाल, तस्कर र माफियाले चलाएको प्रमाणित भएको छ ।

राजनीतिक एवम् माफियाले चलाएको प्रमाणित भएको छ । राजनीतिक एवम् प्रशासनिक नेतृत्व र यिनीहरुको संरक्षण रहेछ भन्ने जगजायर भएको छ । पैसा आउँछ भने यिनीहरु नागरिक मात्र होइन, देश नै बेच्न पनि तयार हुने रहेछन् भन्ने आरोप लगाउनेहरु सही रहेछन् । देशलाई बर्वाद बनाउने यस्ता कुपात्रहरुबारे थप र व्यापक अनुसन्धान गरी अन्य कर्तुतहरुमा संलग्न भइ अकूत कमाएकाहरुको आर्थिक श्रोत खोजिनु पर्दछ ।

लोकतान्त्रिक शासन व्यवस्था पारदर्शी पद्धति हो । व्यक्तिलाई आफ्नो मान प्रतिष्ठा कायम राख्न राज्यले समान व्यवहार गर्नुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्ने सुविधा छैन । ठूलो सानो भन्ने नै हुँदैन । सबै समान हुन्छन्– राज्यको नजरमा । जनताको अभिमत र प्रकट भएको विश्वासलाई राज्य दोहन गर्ने प्रमाणपत्रको रुपमा प्रयोग भएको छ । यसप्रति आम मानिसको असन्तुष्टि रहेको पटक पटक प्रकट भएको पनि हो । तर अनेक तिकडम प्रयोग गरी आफ्नो नागरिकलाई यो वा त्यो नाममा बिक्री गर्ने र आफ्नो अनुकूलको शासन चलाउने नीति नेपालको राजनीतिक एवम् प्रशासनिक नेतृत्वले लिँदै आएको छ ।

नेपाली युवा पिढीलाई राज्यले प्रदान गर्ने सेवा सुविधा सहज ढंगले उपलब्ध नगराएर विदेश पठाउन बाध्य बनाउने काम भइरहेको छ । अध्ययन वा रोजगारीमा जाने नेपालीहरु कुनै न कुनै किसिमले बेचिएका छन् । नागरिकता पाउन पासपोर्ट लिन, कर तिर्न, सवारी चलाउन अनुमतिपत्र लिन, सरकारी कार्यालय कुनै पनि सेवा लिन यति असहज छ कि मानिस हैरान हुन्छ र अर्को खराब विकल्प स्वीकार गर्न बाध्य बनाइन्छ । वैदेशिक यात्राको बढोत्तरी त्यसकै उपज हो । यसलाई समयमा नै बुझ्न सकिएन र नियन्त्रण भएन भने आगामी दिनहरु अझ खराब भएर जाने निश्चित छ । उच्च पदस्थ व्यक्तिहरुको संलग्नताले हाम्रो देशको शासन व्यवस्था नै दलाल, तस्करहरुको कब्जामा छ भन्ने देखाउँछ । त्यसमा पनि परिवर्तनको संवाहक हौ भन्नेहरु रुपान्तरणको गफ दिनेहरु, गरिब र निमुखाको मात्र होइन राष्ट्रवादको नारा दिनेहरु यस मामलामा अग्रपंक्तिमा देखिन्छन् । मान्छे बेच्ने र पहिचान समाप्त बनाउने अभियानमा लाग्नु कुन हदसम्मको चरित्रहिन कार्य हो ? कानुनको कठघरामा ल्याएर सबैको कर्तुत सार्वजनिक गर्न सके मात्र परिवर्तन र परिवर्तनले ल्याएको लोकतान्त्रिक शासन व्यवस्थाको सार्थकता रहन्छ ।

जनताको धैर्यताको बाँध फुटिसकेको छ, यसले कस कसलाई बगाउँछ भन्न सकिँदैन । कारबाही गर्नुपर्ने र गर्ने एउटै चरित्रका मानिस हुन भन्ने बुझाई छ । तलमाथि भयो र ‘काले काले मिलेर खाउ भाले’ भन्ने फासफुसको स्थिति बन्यो भने आँधिबेहरी आउँछ भन्ने हेक्का फटाहाहरुले राखे हुन्छ ।

यो कानुनको शासन भएको देश हो भन्ने सन्देश दिन नसक्दासम्म नेपालको प्रतिष्ठामाथि उठ्न सक्दैन । नागरिकले सिंहदबारबाट थुतेर सडकमा नाङ्गेझार बनाउनेसम्मको अवस्था निम्त्याउन खोजिएको देखिन्छ । यसो भयो भने को कहाँ पग्छ यसै भन्न सकिँदैन । समयमा नै सोचिएन भने स्थिति भयावह छ भनेर सचेत गराइएको लामै समय भइसक्यो । खतराको घन्टी बजेको धेरै नै भयो, तर त्यसबाट सिकेर अगाडि बढ्ने सामूहिक जमर्को भएको छैन । जताततै चोर, फटाहा र लुच्चा लफङ्गाको बिगबिगी पो बढ्दो छ । राजनीतिक एवम् प्रशासनिक नेतृत्वलाई यस्तै प्रवृत्तिका मानिस अनुकूल हुँदा रहेछन् । फरक विचार राख्ने, असहमति जनाउने र राय बझाउनेलाई त प्रवेश नै निषेध गरिएको देखिन्छ । सल्लाह, सुझाव लिन दिन भन्दा आफ्नो दृष्टिकोण लाद्न खोज्ने नेतृत्वलाई अनुकूल हुने चरित्र र प्रवृत्ति तलदेखि माथिसम्म छ ।

प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म, मुख्य सचिवदेखि वडासचिवको प्रवृत्ति मिल्दोजुल्दो देखिन्छ । आफ्नो मूल मर्म र गन्तव्यतर्फ भन्दा छोटो समयमा चमत्कार गरेर देखाउने हुटहुटीकै कारण विकृति र विसंगति संस्थागत भएको छ । उच्च पदस्थहरुले यस कर्ममा आफूलाई मात्र होइन, आफ्ना सन्ततिहरुलाई पनि संलग्न गराएका छन् । छोराछोरी, भाइ भतिजाहरु पनि दलाली, तस्करी, उठौती, पुठौती, सरुवा बढुवा र नियुक्तिमा मोटो रकमवालाहरुको खोजीमा देखिन्छन् । आफ्नो फलानो फलानोसँग सम्बन्ध छ भन्ने देखाएर लुट धन्दा चलारहेका छन् ।

शरणार्थी प्रकरण वा अन्य भ्रष्टाचार वा अनियमिततामा तलमाथि भयो, कारबाही भएन, उन्मुक्ति दिइयो, चलखेल भयो, सरकार गिराउने, बनाउने अनेक प्रपञ्च रचिए वा नेतृत्वले बचाउन खोज्यो आदि इत्यादि भने स्थिति भयावह हुने देखिन्छ । जनताको धैर्यताको बाँध फुटिसकेको छ, यसले कस कसलाई बगाउँछ भन्न सकिँदैन । कारबाही गर्नुपर्ने र गर्ने एउटै चरित्रका मानिस हुन भन्ने बुझाई छ । तलमाथि भयो र ‘काले काले मिलेर खाउ भाले’ भन्ने फासफुसको स्थिति बन्यो भने आँधिबेहरी आउँछ भन्ने हेक्का फटाहाहरुले राखे हुन्छ । जनताले सडकमा नै गोद्ने छन्, विजोक हुनसक्छ । अहिलेसम्म त सम्पर्कविहीन वा फरार भनिएको छ । गल्ती नभए किन सम्पर्कविहीन हुने, किन फरारको सूचिमा रहने ? ओली, दाहाल वा देउवा जो जो बचाउने कार्यमा लाग्छन् यी ठालूहरु नै यस्तो कार्यमा संलग्न छन् भन्ने पुष्टि हुन्छ । स्वघोषणा गरेर जनताको बीचमा आत्मालोचना गरेर नेपाली मन हो माफी पनि दिन्छन् तर अनावश्यक आडम्बर वा नाटक मञ्चन गरेमा कठिन हुने तथा समयसीमाभित्रै बुझे राम्रो हुन्छ ।