सरकारको उपलब्धि र सन्देशले जनतामा भरोसा जागेको छ : सांसद बेल्वासे

सरकारको उपलब्धि र सन्देशले जनतामा भरोसा जागेको छ : सांसद बेल्वासे



काठमाडौं । नेकपा (माओवादी केन्द्र) सांसद का गङ्गाकुमारी बेल्वासेले वर्तमान सरकारले छोटो समयमा प्राप्त गरेको उपलब्धि र सन्देशले जनतामा विश्वास र भरोसा जागेको बताएकी छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधाैँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले लोकतन्त्रका लागि ठूलो सङ्घर्ष गरेका राजनीतिक दलले एक–अर्कालाई दोषारोपण गर्नुका साटो जनता र देश हितमा मिलेर काम गर्न सुझाव दिइन् । उनले भनिन्, “सरकार र प्रतिपक्षबीच विश्वास बढ्दै गएको छ, समयमै विद्यार्थीले पुस्तक पाएका छन्, राष्ट्रिय आविष्कार केन्द्र र मिटरब्याज पीडितका मुद्दा सम्बोधनको प्रयासले जनतामा विश्वास बढेको हो ।”

नक्कली भूटानी शरणार्थी बनाएर मानव तस्करीमा संलग्नलाई जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने घोषणाले जनतामा आशा र विश्वासको वातावरण बनेको उल्लेख गर्दै सदस्य बेल्वासेले गृहमन्त्रीले कुनै राजनीतिक प्रभावमा नपरी अनुसन्धान गर्न दिएको निर्देशनले सुशासनका लागि भरोसा जगाएको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नौ सयभन्दा बढी नागरिकलाई गैरनेपाली बनाएर बेचिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा देशका ठूला र चर्चित भनिएका मानिस संलग्न रहेको घटनाले राजनीतिक र कर्मचारीतन्त्रलाई बदनामी तुल्याएको बताइन् । उनले भनिन्, “राजनीतिक नेता भ्रष्टाचारी र बेइमानी हुन् भनेर चिनिनुपर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कठघारामा ल्याउनुपर्छ । आज दिनप्रतिदिन राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, यस्ता घटनाले जनताले विकल्प खोज्ने परिस्थिति उत्पन्न भएकोतर्फ सबै शक्ति समयमै सच्चिन जरुरी छ ।”

जनता समाजवादी पार्टी (जसपा) का प्रमिला कुमारीले सरकारले भूमिहीनलाई लालपुर्जा जनसङ्ख्याका आधारमा वितरण गर्न, समयमै कृषि मलको व्यवस्था मिलाउन तथा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिइन् । उनले भनिन्, “नक्कली शरणार्थी र आर्थिक चलखेल गर्नेलाई कानूनी दायरामा ल्याउने प्रयास सराहनीय छ । मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउनुपर्छ ।”

यसैबीच, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० सभासमक्ष पेस गरेका छन् ।