पक्राउ परेका दुईजनालाई खाँणले किन छोडाए ?

पक्राउ परेका दुईजनालाई खाँणले किन छोडाए ?



नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म २० वटा जाहेरी परेको छ । ४० करोड रुपैयाँ ठगी र १ सय ४५ जना पीडित रहेका छन् । यो संहिता अपराध भएकाले प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्छ ।

यो घटनाको सुरुमा केशव दुलाल भन्ने मान्छे पक्राउ परेका हुन, जो सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा स्वकीय सचिव थिए । भुटानी शरणार्थीको पुनर्वासका विषयमा उनले सबै कुरा बुझिसकेका थिए । यो कुरा उनले आफ्नो साथी सानु भण्डारीसँग सेयर गरे । सानु भण्डारीले चिनेको अहिले फरार भनिएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी जसलाई ऊ मामा भन्थ्यो । यो कुरा मामा भान्जाबीच सेयर भयो ।

रायमाझीले सहज गर्दिएको भनेका छन् । यदि सहज गर्दिएको भए किन फरार हुनु ? अगाडि आएर आफ्ना कुरा भन्दिएको भए हुन्थ्यो । टोपबहादुर, उनका छोरा सन्दीप रायमाझी, सानु भण्डारी र केशव दुलाल भएपछि अगाडि लैजाने आत्मबल बढ्यो । उनीले काम गर्न थाले ।

काम सुरु भएपछि पैसा दिनसक्ने नक्कली शरणार्थीको खोजी हुन थाल्यो । पूर्वमा झापा, मोरङ, पश्चिममा दाङ, प्यूठान, सल्यान, रुकुम रोल्पा र गोर्खामा पैसा दिनसक्ने मान्छे खोजी हुन थाल्यो ।

यस अवधिमा रामबहादुर थापा माओवादीका तर्फबाट गृहमन्त्री भए । रामबहादुर थापाले इन्द्रजीत राईलाई सुरक्षा सल्लाहकार बनाए । रामबहादुर थापाका छोरा प्रतीक थापा पनि यसमा संलग्न हुन थाले । पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पारियो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक र उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनको मिलेमतोमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप भएको थियो भन्ने कुरा सर्वविविद छ । स–साना कुरामा उनीहरुको मोलमोलाइ हुन्थ्यो । इन्द्रजीत आएपछि गृह प्रशासनमा झन् हस्तक्षेप गर्न थालियो ।

त्यही बेला पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षमा तीन सदस्यीय भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन कार्यदल गठन भयो । विज्ञका रुपमा गणेशबहादुर केसी र सदस्यसचिवका रुपमा गृहका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने कार्यदलमा थिए । ४ सय २९ जना छुटको नाम कार्यदलले ल्याए । त्यसैमा १ सय २५ जनाको नक्कली नाम घुसाइयो । गृहमन्त्रालयबाट यो गोप्य कागजपत्र कसरी बाहिर आयो ? यो पनि एकदमै संवेदनशील छ ।

यस अवधिमा एमाले सरकार ढल्यो, शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि ठूलै हल्लीखल्ली भयो । कहाँ जाने भनेर उनीहरु विलखबन्धमा परे । पैसा लिइसकेको छ, कतिपयको फिर्ता गरिदिए, पैसा फिर्ता नहुनेहरुले प्रहरीमा जाहेरी दिए ।

बालकृष्ण खाँण गृहमन्त्री भएको बेलामा प्रहरीले दुईजना मान्छेलाई पक्रेको छ । राजनीतिक दलको दबाबमा प्रहरीले उनीहरुलाई छाड्यो । छुटेपछि उनीहरुको तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग लेनदेनमा कुरा मिल्यो । मन्त्रालयको सचिवले माथिको ग्रीन सिग्नल नभइ काम गर्दैन । गृहसचिवलाई हात लिएपछि उनीहरुलाई काम गर्न सजिलो भयो ।
शर्मा अवकाश प्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन् ।