राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह निर्वाचित

राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह निर्वाचित



काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छन् ।

आइतबारदेखि राजधानीमा जारी महाधिवेशनबाट उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सकिएको हो । उपाध्यक्षमा संगीता मल्ल ठकुरी र महासचिवमा कुमारी स्याङ्तान निर्वाचित भएका छन् ।

महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन् । मनोनीत हुने उपाध्यक्षमा सिजन श्रेष्ठ र सरस्वती श्रेष्ठ, महासचिवमा रञ्जना सेन ठकुरी र चम्पा अधिकारी रहेका छन् ।

संगठनको महाधिवेशनबाट पारित विधान अनुसार विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्पीडित, जनजातिबाट सदस्यमा निर्वाचित गरेको छ ।

यसअघि महाधिवेशन आयोजक समितिकी संयोजक रावलले बन्द सत्रमा पेश गरेको संगठनको राजनीतिक र सांगठनिक प्रतिवेदन एवं सदस्य सचिव कुमारी स्याङ्तानले पेश गरेको विधानको मस्यौदा संशोधनसहित पारित गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।