रौतहट । रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय रौतहटले अनुरोध गरेको छ । गर्मीका कारण तराई, मधेशका सप्तरी तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् ।
मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । रौतहटमा तातो बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने वर्गलाई समस्या पर्न थालेको छ । केही दिनअघिदेखि बढेको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।
चन्द्रनिगाहपुरस्थित सकारी अस्पताल र निजी अस्पतालमा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवस्थामा दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।
अहिले अत्याधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालका डाक्टर राम किशोर साहले आग्रह गरे । तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पुर्याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताए ।
प्रतिक्रिया