गठबन्धन बदल्ने छलफल गरौं : योगेश भट्टराई

गठबन्धन बदल्ने छलफल गरौं : योगेश भट्टराई



काठमाडौं । एमालेका सचिव तथा सांसद योगेश भट्टराईले वर्तमान सरकारलाई कर्मचारी र विदेशीले विश्वास नगरेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभा बैठकको छलफलमा सहभागी हुने क्रममा सचिव भट्टराईले कर्मचारी, लगानीकर्ता र विदेशीले विश्वास नगरेको सत्तारुढ गठबन्धन परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

सांसद भट्टराईले वैदेशिक ऋण तथा अनुदान, सेयर बजारको अवस्था, महालेखाको प्रतिवेदन तथा आन्तरिक लगानी हेर्दा सरकारलाई कसैले विश्वास नगरेको बताएका छन् ।

‘एकातिर अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन । अर्कोतिर नेपालकै पुँजीपति, लगानीकर्ताले पत्याएका छैनन् । शेयरबजार, लगानीबाट हेर्न सकिन्छ । महालेखाको प्रतिवेदन हेर्दा १ खर्ब १५ अर्बभन्दा बढी बेरुजु छ र ३० प्रतिशतभन्दा बढी पुँजीगत लगानी भएको छैन,’ उनले भने, ‘कर्मचारीले विश्वास गरेको छैन । विदेशीले विश्वास गरेको छैन । अब यो जोडी कायम राख्ने कि जोडी बदल्ने कि छोड्ने । यो ठाउँमा छलफल गर्नुपर्ने देखिन्छ ।’

वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने भट्टराईको भनाइ थियो । वर्तमान गठबन्धन परिवर्तन नगरे अर्थतन्त्र दुर्घटना हुने दाबी गरे । ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन् । कर्मचारीतन्त्र चलैकै छैनन्,’ उनले भने ।

मुलुकमा चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको भट्टराईको भनाइ थियो । अर्थतन्त्र झारफुकले निको नहुने र सर्जरी गर्नका लागि चिकित्सक दक्ष नभएको पनि भट्टराईको भनाइ छ ।