प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ ? प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौंला’ उनले भने ।

जहाँ जुन खर्च नगरेर पनि काम चल्छ त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने उनले बताए । यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । ‘अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने । त्यसैल (पुरानैले) चलाउने’ उनले भनेका छन् ।

पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए ।

‘हामीले बिल्डिङ बनाउने प्रस्पिर्धा नै गरेछौं । ठूला ठूला बनायौं । स्रोत साधन हैसियतभन्दा चर्को, अरबौं अरबको । आवश्यकता भन्दा कैयौं गुणा ठूलो बिल्डिङ बनाउन लागेछौं । यस्तो खाले खर्च यसपटक अति आवश्यक भए मात्रै गर्नेछौं ‘ अर्थमन्त्री महतले भनेका छन् ।

सरकारले स्रोत र साधन अनुसारको काम गर्ने उनको भनाइ छ । पश्चिमा देशमा आफू पढेर आएको उल्लख गर्दै अर्थमन्त्री महतले भने, ‘मैले देखको छु । पेपर लेस इकोनोमीमा भनिरहेको छ । हाम्रो चाहीँ कोठाको साइज बढाइरहेका छौं । पश्चिमा मुलुकमा सानो अफिसमा ठूला अफिसर बसिरहेको हुन्छ कम्युटर लिएर । हाम्रोमा पनि त्यस्तो सम्भावना छ ।’

सार्वजनिक खरिद ऐनमा समस्या रहेको उल्लेख गर्दै उनले त्यसमा रहेको अवरोध हटाउने पनि सरकारको योजना रहेको बताए ।

महतले बजेट छर्नलाई आफूमाथि दबाब रहेको बताएका छन् । उनले भने, ‘बजेट छर्ने ? यद्यपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरु थुप्रै छन् ।’

बजेटको चुनौती भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै हुनु तर, साधन र स्रोतको सीमितता रहनु रहेको उनले बताए । उनी भन्छन्, ‘थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्न भन्ने चुनौती छ । जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो’ उनले भने ।’