रेशम चौधरीको मुद्दामा बहस सकियो

रेशम चौधरीको मुद्दामा बहस सकियो

आजै फैसला आउन सक्ने



काठमाडौं । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि सकेसम्म आजै फैसला आउनसक्ने पनि बताइएको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।

जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।