नेप्से ३२ अंकले बढ्यो, अर्ब बढीको सेयर करोबार

नेप्से ३२ अंकले बढ्यो, अर्ब बढीको सेयर करोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२.३० अंकले बढेको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले वृद्धि भएर १८७७.३२ विन्दुमा रोकिएको छ ।

एक दिनमै कारोबार रकम ६१ करोड ७१ लाख रुपैयाँले बढेको छ । एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

एक महिनापछि एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसअघि, गएको चैत ३० गते एक अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयताका कारोबार दिनहरूमा एक अर्बभन्दा कमको सेयर खरिद–बिक्री हुँदै आएको थियो ।

बिहीबार २६४ धितोपत्रका ४४ लाख २२ हजाार १८६ कित्ता खरिद–बिक्री भयो । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यो कम्पनी आठ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भयो । शिवम् सिमेन्टको सात करोड ११ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

१० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छन् । शिवश्री हाइड्रोपावरको सेयर मूल्य ८.१४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले वृद्धि भएको छ । व्यापार समूहको परिसूचक ३.७१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १.४८ प्रतिशतले वृद्धि भएर ३५८.१८ विन्दु कायम भएको छ । नेप्सेका अनुसार लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पुँजीकरण) २७ खर्ब ३८ अर्ब ७२ करोड कायम भएको छ ।