सरकारले मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याएको हो : अर्थमन्त्री

सरकारले मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याएको हो : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । महतले नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो ।

‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरू सरकारको नीति तथा कार्यक्रममा आएका छन्,’ महतले भने, ‘कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनुपर्‍यो । इमान्दार हुनुपर्‍यो । रातदिन काम गर्नुपर्‍यो । त्यो काममा हामी लाग्छौँ । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नुपर्‍यो, गर्छौं ।’