ममाथिको अन्याय सम्झदा प्रत्येक क्षण पीडा हुन्छ

ममाथिको अन्याय सम्झदा प्रत्येक क्षण पीडा हुन्छ



मभन्दा १८ महिना जुनियर जसलाई मैले नै एआईजीको फुली लगाइदिएँ, तत्कालिन शेरबहादुर देउवा सरकारले मलाई पाखा लगाएर उसैलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्‍यो । सुरक्षा निकायमा सिनियर र जुनियरको थोरै पनि हेक्का नराखेको देउवा सरकारले ममाथि अन्यायमात्र गरेन, मेरो व्यवसायिक जीवनको हत्यासमेत गर्‍यो । राज्यबाट ममाथि भएको यस्तो अक्षम्य अन्याय संसारको कुनै पनि मुलुकको इतिहासको कालखण्डमा कतै भेटिँदैन ।

मैले नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेर इमानलाई बचाउँदै पुरस्कृत भएर म त्यो अतिरिक्त प्रहरी महानिरीक्षक पदमा पुगेको थिएँ । जनताको मुक्तिका लागि लडेको भनिएका र प्रजातन्त्रका खातिर योगदान दिएको भनिएका व्यक्तिबाटै ममाथि अन्याय हुँदा झन् बढी पिडा हुने रहेछ । त्यो पीडा म आज मात्र होइन जीवनभर बिर्सन सक्दिनँ ।

जतिबेला ममाथि अन्याय हुँदैछ भन्ने सूचना पाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत धेरैले विश्वराजमाथि यो अन्याय गर्नु हुँदैन भनेर प्रधानमन्त्री देउवाकहाँ डेलिगेशन गएका थिए । तर उनीहरुको कुरा सुनवाइ भएन, कोही कसैले भनेको लागेन । के कारणले भयो, कसको कारणले भयो, इतिहास जगजाहेर छ ।

ममाथि ठूलो अन्याय भएको निर्णय हुनेवित्तिकै नेपाली कांग्रेसका अर्का इमान्दार नेता शेखर कोइरालाले एउटा टुइट गर्नुभएको थियो । वरियता र प्रकृया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्ति गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाएको छ । प्रधानमन्त्री देउवाको निर्णयविरुद्ध आफ्नै पार्टीका अर्को नेताले विरोध गर्नु भनेको गलत काम भएको पुष्टि हुन्छ ।

गलत बाटोबाट गलत व्यक्ति नेतृत्वमा पुग्यो भने त्यसले सबैतिर बेथिति सिर्जना गराउँछ । बिचौलियाहरु उत्साहित हुन्छन् । सीमा र आर्थिक अपराध बढ्छ, व्यापारीको गैरकानुनी धन्दा मौलाउँछ । गलत ढंगबाट नेतृत्वमा पुगेको छ, त्यहाँ गलत ढंगले लेनदेनको कुरा अगाडि आउँछ ।

विश्वराजलाई अन्याय हुँदैछ भन्ने थाहा पाएपछि मेरै जिल्लाका टोलीसमेतले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । मेरो परिवार पनि लामो समय लोकतन्त्रका लागि लडेको, मेरो पिताजी जेलनेल बसेको घटना सुनाउँदा प्रधानमन्त्री देउवाले यति धेरै सिनियर अफिसरलाई म अन्याय हुन दिन्न भनेर आश्वस्त पारेर फर्काएका थिए ।

सिलवाल केसमा क्रम संख्या मात्र तलमाथि थियो, त्यसले नै मुलुकमा तहल्का मच्चाएको थियो । न्यायालय हल्लिएको थियो । म १८ महिना सिनियर थिएँ, मैले नै उसलाई फुली लगाइदिएको हुँ । मेरो व्यवसायिकता र इमान्दारितामा कसैले प्रश्न उठाएका थिएनन् । त्यसैले ममाथि अन्याय हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।

मैले कुनै छायाँशक्तिसँग भेटघाट, उनीहरुसँग उठबस र उनीहरुको निर्देशनमा काम गरेको थिइनँ । सम्भवतः यही भएर मलाई छायाँशक्तिले मन पराएन । यसको चक्रव्यूहमा प्रधानमन्त्री शेरबहादुर देउवा पर्नुभयो होला ।

मलाई जतिबेला अन्याय भयो, म न्याय माग्न अदालत पुगे । प्रहरी सेवामा प्रवेश गर्नुअघि मैले सात वर्ष अदालतमै जागीर खाएको थिएँ । त्यतिबेला मलाई न्यायालय मन्दिरजस्तो लाग्थ्यो । राज्यले अन्याय गरे पनि मलाई अदालतले न्याय दिन्छ भन्ने विश्वास थियो । म न्याय माग्न अदालत गएँ । तत्कालिन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले इतिहासकै कलंक बोकेर ममाथि अन्यायपूर्ण फैसला गरेर जानुभयो । त्यो फैसलालाई म प्रहरी इतिहासमा कलंकको संज्ञा दिन्छु । प्रधानन्यायाधीश पाउने लोभमा कामु प्रधानन्यायाधीश हुनुभन्दा अगाडि र कामु प्रधानन्यायाधीश रहुञ्जेल उहाँले के कस्तो फैसला गर्नुभयो भन्ने सबै सामू जगजाहेर छ ।

त्योभन्दा कम त्रुटीको सिलवालको मुद्दामा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले बोल्ड निर्णय गर्नुभयो । सुरक्षा निकायमा जेष्ठता भनेको जेष्ठता नै हो भन्ने नजिर सर्वोच्च अदालतले स्थापित गरेको थियो । उहाँले त्यो निर्णय गरेपछि महाअभियोगको सामना गर्नुप-यो । मेरो मुद्दा धेरै फरक प्रकृतिको हो । मभन्दा १८ महिना जुनियरलाई एक महिनाभित्र डिआईजीबाट एआईजी बनाएर आईजीपी बनाइएको छ । सुरक्षा निकायमा योभन्दा मजाक अर्को हुनसक्छ ?

यो घटना सम्झेर मलाई प्रत्येक बिहान, प्रत्येक साँझ र हरेक क्षण पीडा महसुस हुन्छ । यति ठूलो अन्याय मैले व्यहोर्नुप-यो, राज्यले अन्याय ग-यो, न्यायालयले न्याय दिएन । एक निरिह नागरिकसँग न्याय पाउने अर्को कुन विकल्प बाँकी रहन्छ र ? म प्रहरी संगठनको उच्च पदमा पुगेर पनि यो अन्याय व्यहोर्नु प-यो भने आम मानिसले न्यायको कल्पना नगरे पनि हुने रहेछ । आम जनताको पहुँचभन्दा न्याय धेरै टाढा छ । यो मैले भोगेको अनुभव हो ।

यी सबै घटनालाई नजिकबाट नियालिरहेका मेरा सहकर्मी साथीहरु भन्छन्– इमान्दारीपूर्वक काम गरेर के हुँदो रहेछ र ? त्यसको फल तपाईंले के पाउनुभयो ? यहाँ इमान्दारिताको कुनै अर्थ छैन । यदि पद चाहिन्छ भने नेताको दैलो चार्हर, पैसा कमाउ, पैसा बुझाउ, लेनदेन गर, छाँयाशक्तिलाई खुशी पार । आफ्नो र संगठनको मूल्य र मान्यतालाई तिलान्जली देउ भन्ने मानक तयार भएको छ ।

इमान्दार व्यक्तिलाई इमान्दारपूर्वक नेतृत्वमा पु-याउन सकिएन भने त्यसको क्षति नागरिकले व्यहोर्नु पर्छ । गलत बाटोबाट गलत व्यक्ति नेतृत्वमा पुग्यो भने त्यसले सबैतिर बेथिति सिर्जना गराउँछ । बिचौलियाहरु उत्साहित हुन्छन् । सीमा र आर्थिक अपराध बढ्छ, व्यापारीको गैरकानुनी धन्दा मौलाउँछ । गलत ढंगबाट नेतृत्वमा पुगेको छ, त्यहाँ गलत ढंगले लेनदेनको कुरा अगाडि आउँछ । यी कुरा जसले पनि बुझ्छ, तर प्रमाण हुँदैन र बोल्न मिल्दैन ।
(अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक पोखरेलले दिएको एक अन्तर्वार्ताको सम्पादित अंश)