सबैतिरबाट आक्रमण हुँदा पनि एमालेलाई जोगायौं : ओली

सबैतिरबाट आक्रमण हुँदा पनि एमालेलाई जोगायौं : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट पार्टीमाथि आक्रमण हुँदा पनि जाेगाएर अघि बढाउन सकेको दाबी गरेका छन् ।

मङ्गलवार ललितपुरको च्यासलमा रहेकाे पार्टी कार्यालयमा आयोजित एमाले जनसङ्गठनहरूको पदाधिकारी भेलामा अध्यक्ष ओलीले पार्टी चल्न नदिने, पार्टी नेतृत्वप्रति अनास्था जगाउने घटना विगत दुई वर्षमा भएको उल्लेख गर्दै अहिले पार्टीलाई सशक्त ढङ्गले पुनर्जीवित गर्न सकिएको बताए ।

उनले भने, ‘हामीलाई सिध्याउने खालको हमला दशै दिशाबाट भएको छ । तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला गरिएको छ । हुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । जिउँदै खाएर सिध्याउन खोजेको छ । त्यो विचित्रको स्थिति हामीले बेहाेर्नुपर्‍याे । त्यो स्थिति बेहाेरेर, त्यस प्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छाैँ । अझ सशक्त ढङ्गले पार्टीलाई पुनर्जीवित गरेका छौं ।’

अध्यक्ष ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरे । उनले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताए ।उनले देशको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठेराे अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सतर्क भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।