काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरेका छन् ।
संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि निधिले सुझाव दिए ।
‘आजको समाचारपत्रहरुमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं’ उनले भने, ‘यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ । अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । र, त्यहींबाट प्रमाणित नै हुनुपर्दछ ।’
प्रतिक्रिया