शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौं : रवि लामिछाने

शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौं : रवि लामिछाने



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकाको बयान लिन माग गरे ।

भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्ने बताउँदै उनले न्यायिक प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताए । भ्रष्टाचारको विषयमा हाइप्रोफाइल भन्ने नहुने भन्दै उनले फाइल हुने बताए ।

प्रमुख तीन दलका शीर्षनेताहरुको भेटघाटमा दोषी जोगाउने गन्ध आएको भन्दै लामिछानेले कसैलाई पोल्नेमात्र काम पनि गर्न नहुने बताए । भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेकोसमेत बताए ।

घुमाउरो रूपमा आरजु राणा देउवा, मञ्जु खाँणप्रति इंगित गर्दै नाम आएकाहरूलाई मिडियामा तामातुलसी छोएर कसम खाएकै भरमा छाड्ने हो भन्दै प्रश्न गरे ।

“नाम आएका मानिसहरू देखिनुहुन्छ, कोही बेपत्ता भयो भन्ने थाहा हुन्छ । त्यसपछि केही समयपछि सामसुम हुन्छ,” उनले भने, “बयान लिने काम सकिन्छ । कोही ढ्याक्कै प्रकट हुनुहुन्छ । कोही संसद्मा प्रकट हुनुहुन्छ । कोही मिडियामा तामातुलसी छोएर कसम खाएर प्रकट हुनुहुन्छ । नाम लिएका सर्वसाधारणको हकमा पनि यही नियम लागु हुन्छ ?”

सांसद लामिछानेले पैसा बुझाएको कुराहरू बाहिर आउँदा किन अनुसन्धानमा नल्याएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

“भ्रष्टाचार काण्ड कल्पनै गर्न नसकिने गरी दिनहुँ प्रस्तुत भएको छ । डरलाग्दो कुरा के भने राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमा ठूल्ठूला भ्रष्टाचार काण्ड भएका छन्, यसलाई हामीले सामान्य बनाएर गएका छौँ,” उनले भने, “नक्कली भुटानी शरणार्थी काण्डमा बालुवाटारभित्र पैसा बुझाएको, सिंहदरबार मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आएका छन् ।”

सांसद लामिछानेले थपे, “म कसैले आरोप लगाएको भरमा कसैलाई दोषी भन्न गइरहेको छैन । कम्तिमा राज्यले छानबिन गर्न सक्छ ।”

उनले प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई बयान लिनुपर्नेमा जोड दिए । जनतालाई विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई मुटु नकमाउन अनुरोध उनले गरेका छन् ।