नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै भयो : गगन थापा

नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै भयो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा घोषणा गर्ने, तर त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ । सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

उनले सरकारले उद्देश्यअनुसारका नीति र कार्यक्रमहरू अबलम्बन गर्नुपर्ने र तिनलाई आवश्यकताअनुसार परिमार्जन र व्यवस्थापन गर्नुपर्ने बताए ।

थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको बताएका छन् । उनले अनुसन्धान कसरी भइरहेको छ भन्ने जनताले एक एक हेरेर बसेको बताए ।

सांसद थापाले राज्यविरुद्धको अपराधमा संलग्न एकजना पनि उम्कन नहुने बताए । यो प्रकरणमा न्यायालयको पनि परीक्षा भइरहेको उनको भनाइ छ ।

“जसरी नाम आएको छ, एक प्रकारले लाज पनि लजाएको छ । को को परेको हो भनेर सुन्दै जाँदा हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ,” उनले भने, “तर, यसमा सरकारको परीक्षा हेर्नुछ । अनुसन्धान कसरी भइरहेको छ, सबै जनताले हेरिरहेका छन् ।”