काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा लगाइएको जलहरी पित्तलको प्रमाणित भए पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले यस्तो चुनौती दिएका हुन् ।
‘सत्ता पक्षतर्फबाट जिम्मेवार सांसदले जुन कुरा राख्नुभयो त्यो कुनै आधार छैन गैरजिम्मेवार छ । आफू सरकार चलाई राख्नुभएको छ । सम्पूर्ण डाडूपन्यूँ आफ्नो हातमा छ । कानूनविपरीत भएका काम कारबाहीमा कारवाही गर्ने अधिकार छ ।’ उनले भने, ‘सरकारलाई सबै कुरा थाहा छ । उहाँले भन्नुभएको मलाई विश्वास लागेन मैले घरिघरि खोलेर सुनेँ ।’
नेम्वाङले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको गम्भीर आरोप तथ्यमा माग गरे ।
उनले भने, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’
प्रतिक्रिया