२० मिनेटलाई रोकिएको संसद नबसी भोलि ४ बजेका लागि बोलाइयो

२० मिनेटलाई रोकिएको संसद नबसी भोलि ४ बजेका लागि बोलाइयो



काठमाडौं । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्ने भएको छ । शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि शनिबारका लागि सरेको हो ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजे मात्र बसेको थियो । तर, प्रमुख विपक्षी दल एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

एमालेले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन ।

त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् ।

नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी थियो ।