जनमतले दुई सांसदमाथि गर्‍याे कारबाही

जनमतले दुई सांसदमाथि गर्‍याे कारबाही



काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा)लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ ।

उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह (सिरहा)को ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ ।

यसैबीच जनमत पार्टीको विधान संशोधन गरिएको छ । जसअनुसार केन्द्रीय समिति विस्तार गर्नुको साथै सचिवालय पनि गठन गरिएको छ । ३५ सदस्यीय सचिवालय गठन गरिएको छ भने ५० सदस्यीय कार्यकारिणी समिति पनि गठन भएको छ । जनमतमा सबभन्दा शक्तिशाली सचिवालय हुनेछ ।

सचिवालयबाट हुन नसकेको निर्णय मात्र कार्यकारिणी समितिमा जाने प्रावधान विधानमा राखिएको छ ।