राष्ट्रहितका बारेमा सकारात्मक सुझाव आएका छन् : प्रधानमन्त्री

राष्ट्रहितका बारेमा सकारात्मक सुझाव आएका छन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका बारेमा सकारात्मक सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री लगायत सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले सुझाव लिने क्रम जारी रहेको भन्दै अहिलेसम्म आएका सुझावहरू सकारात्मक रहेको जानकारी दिएका हुन् ।

‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए । उनले भारत भ्रमणका क्रममा हुने सम्झौता राष्ट्रिय सहमति मै हुने दाबी समेत गरे ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओेली, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी थिए ।

त्यसैगरी, पूर्वपराष्ट्रमन्त्रीहरू डा. भेषबहादुर थापा, प्रदीप ज्ञवाली, विमला राई पौड्याल छलफलमा सहभागी थिए । नेता महन्थ ठाकुर, प्रमेश हमाल र पूर्वराजदूतहरू बैठकमा सहभागी थिए ।