थेग्नै नसकिने दबाब आएपछि सांसद विकास कोष बिउँताइयाे : प्रधानमन्त्री

थेग्नै नसकिने दबाब आएपछि सांसद विकास कोष बिउँताइयाे : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसद विकास कोष बिउँताइएकाे बताएका छन् ।

मङ्गलवार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रीय संसदीय दलको बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषका लागि बजेटमै व्यवस्था गरेर रकम विनियोजन गर्नु आफ्नो योजना नभई बाध्यता भएको बताएका हुन् । सत्ता साझेदार दलसहित सबैतिरबाट कोष बिउँताउनुपर्छ भनेर थेग्नै नसकिने गरी दबाब आएकाले यो व्यवस्था बजेटमा समेटिएको प्रचण्डको भनाइ छ ।

उनले हरेक निर्वाचन क्षेत्रमा सांसदले परिचालन गर्न पाउने कोषको बजेटलाई कार्यविधि बनाएर व्यवस्थित गरिने पनि उल्लेख गरे । प्रचण्डले यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिने उल्लेख गर्दै बरु सरकार ढले पनि यस पटक कुनै हालतमा भ्रष्टाचारका फाइल खोल्ने दाबी गरे ।

यस्तै भोलि बुधवारदेखि सुरु हुने भारत भ्रमणमा नेपालको हितमा मात्रै सम्झौता हुने र विवाद र आलोचनाबाट मुक्त हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।