प्रधानमन्त्री बुधबार दिउँसो १ बजे भारत प्रस्थान गर्ने

प्रधानमन्त्री बुधबार दिउँसो १ बजे भारत प्रस्थान गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन् । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति हमिद अन्सारीसँग भेटवार्ता गर्ने छन् । उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा वार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र स्वकीय सचिवलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको याे पहिलो विदेश भ्रमण हो ।