प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

टोलीमा अर्थ मन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।